महाशिवरात्रिमा नवग्रह मन्दिर स्याङ्जमा पूजा, भजन कन्सर्ट,अन्तरविद्यालय भजन प्रतियोगिता र दीप प्रज्वलन एकै साथ सम्पन्न ।
२०८२ फाल्गुन ०६, बुधबार ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्रिको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। दिनभर सञ्चालन गरिएको विशेष पूजाअर्चनासँगै भजन कन्सर्ट र दीप प्रज्वलनले मन्दिर परिसर भक्तजनले खचाखच भरिएको थियो। मन्दिर व्यवस्थापन समितिका अनुसार दिउँसो विशेष पूजा सम्पन्न भएसँगै राष्ट्रिय कलाकार पशुपति शर्मा, घनश्याम रिजाल लगायतका कलाकारले भजन प्रस्तुत गरेका थिए। साँझ ‘शिव ताण्डव’ डिजे कार्यक्रमसमेत आयोजना गरिएको थियो। यस अवसरमा ९ लाख ९९ हजार ९ सय ९९ दीप प्रज्वलन गरिएको जनाइएको छ।
त्यसैगरी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा गल्याङ–२ स्थित रामनदीधाम संस्कृत गुरुकुलम् प्रथम हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भयो। अर्जुनचौपारी–२ को अमरज्योति मावि द्वितीय भई १६ हजार रुपैयाँ प्राप्त गर्यो भने अर्जुनचौपारी–१ को अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तृतीय हुँदै १० हजार रुपैयाँ जित्न सफल भयो। प्रतियोगितामा जिल्लाका १३ विद्यालयको सहभागिता रहेको थियो।
पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले यस्ता कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने बताए। उनका अनुसार भजन प्रतियोगिताले विद्यार्थीबीच चिनजान, अनुभव आदान–प्रदान र आध्यात्मिक चेतनाको विस्तारमा सकारात्मक प्रभाव पारेको छ।
धार्मिक वन क्षेत्रभित्र करिब आठ हेक्टरमा फैलिएको नवग्रह मन्दिर नवभुज आकारमा निर्माण गरिएको २७ फिट अग्लो संरचना हो। यहाँ रहेको सौर्यमण्डलीय ब्रह्माण्ड मूर्ति वर्षमा एकपटक गणेश चतुर्थीका दिन सर्वसाधारणका लागि अवलोकन खुला गरिने व्यवस्था रहेको छ। गत वर्ष महाशिवरात्रिकै अवसरमा प्राण प्रतिष्ठापछि औपचारिक रूपमा स्थापना भएको मन्दिर छोटो समयमै जिल्लाको महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार एक वर्षको अवधिमा पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्। महाशिवरात्रिको दिन मात्रै हजारौं भक्तजनको उपस्थितिले नवग्रह परिसर आध्यात्मिक उत्साहले भरिएको थियो। स्थानीयवासीका अनुसार मन्दिर निर्माणसँगै अर्जुनचौपारी क्षेत्र धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा विकसित हुँदै गएको छ।




