नेपाल–जापान राष्ट्रप्रमुखबिच भेटवार्ता
दुई देशबिचको सम्बन्ध थप उचाइमा पुर्याइने ।
२०८२ माघ २१, बुधबार ।
राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोले नेपाल–जापानबिचको मित्रतालाई प्रगाढ बनाउँदै भविष्यमा थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । दुई राष्ट्रप्रमुखबिच मङ्गलबार जापानमा भएको उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्तामा दुई देशबिचको ७० वर्ष लामो मित्रतालाई आपसी सहयोग र साझेदारीका बलमा सम्बन्धको आयामलाई थप उच्च बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । जापानको चार दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितो बिच इम्पेरियल प्यालेस टोकियोमा उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति पौडेलले सम्राट् नारुहितोसामु नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार बनेर निरन्तर गर्दै आएको सहयोग र भूमिकाको उच्च कदर गदै प्रशंसा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, “जापानले नेपाललाई मानव संसाधन विकाससँगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, मौलिक संस्कृतिको जगेर्नालगायतका बृहत्तर क्षेत्रमा सहयोग गरि रहेको छ, यसबाट नेपाल र नेपाली जनता अत्यन्त लाभान्वित भएका छन् ।” साथै उहाँले दुवै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको प्रस्ट्याउनुभयो । राष्ट्रपति पौडेलले थप्नुभयो, “बुद्धको जन्म स्थल लुम्बिनीले नेपाल र जापानका जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ ।भेटवार्ताका क्रममा, नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर, आपसी मित्रता, सद्भाव र सहयोगको गहिरो भावनाले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा आपसी धारणा आदानप्रदान गर्नुभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बताएको भन्दै राष्ट्रपति पौडेलले समय अनुकूल मिलाएर सम्राज्ञीसहित सम्राट् नारुहितोलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट् नारुहितोले नेपालमा गर्नुभएको मैत्रीपूर्ण उच्चस्तरीय भ्रमणका व्रmममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण सम्राट् नारुहितोलाई गराउनुभयो । साथै उहाँले सन् २०२० मा जापान सरकारका तर्फबाट आफूलाई ‘ग्रान्ड कर्डन अफ दी अर्डर अफ दी राइजिङ सन’को सम्मानबाट विभूषित गर्नुभएकोमा सम्राट् र जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि पनि कृतज्ञता प्रकट गर्नुभयो । स्रोत गोरखापत्र राष्ट्रिय दैनिक


