‘जेन जी आन्दोलन पछिको कठिन परिस्थितिमा पनि नेपाल प्रहरी सुरक्षामा प्रतिबद्ध छः महानिरीक्षक कार्की
२०८२ पौष २६, शनिबार ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्नुभयो । उक्त क्रममा आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठुलो क्षति पुगेको स्मरण गराए । उहाँले यस कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको जानकारी दिनुभयो। उनले भने, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठुलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ ।”
“ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्”, उनले भने, “सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।” आइजिपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने उल्लेख गरे । साथै, ट्राफिक सप्ताहको सफलताका लागि आम नागरिकको सक्रिय साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले अभियानमाथि प्रकाश पार्दै जेन जेड युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिको स्मरण गर्दै उक्त आगजनीका कारण ट्राफिक प्रहरीका संरचना ध्वस्त भएको, उपकरण नष्ट भएको र कार्यालयमा रहेका नागरिकका महत्त्वपूर्ण कागजात जलेको बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को सफलताको शुभकामना व्यक्त गरे ।
उनले काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न सबै पक्ष प्रहरी, चालक, यात्रु र सर्वसाधारण सजग र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए । उक्त अभियान आजदेखि सुरु भई आउँदो माघ ३ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत ट्राफिक सचेतना, नियम पालना, सवारी अनुशासन, पैदल यात्री सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
‘जेन जी आन्दोलन पछिको कठिन परिस्थितिमा पनि नेपाल प्रहरी सुरक्षामा प्रतिबद्ध छः महानिरीक्षक कार्की
2 Mins Read


