विशेष महाधिवेशन आह्वान फिर्ता नहुने गगन थापाको भनाई ।
२०८२ पौष २४, बिहिबार ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बोलाउन आवश्यक नरहेको उल्लेख गरेका थिए। पार्टीको विधान अनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक नरहेको खड्काले बताएका थिए। तर महाममन्त्री थापाले विशेष महाधिवेशन हुने बैठकमा प्रस्ट पारेका हुन्। उनले विधानको कुन धारा अनुसार नियमित महाधिवेशन घोषणा भएका बेला विशेष महाधिवेशन नहुने भन्ने खड्काले प्रस्ट पार्न नसकेको तर्क गरे। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले कार्यवाहक सभापति खड्काले विधानको अपव्याख्या गरेको बताए। ‘विधान अनुसार विशेष बोलाउनु पर्दैन भन्नु विधानको अपव्याख्या हो’, थापाले भने, ‘यो विधानसम्मत छैन। विधानको अपव्याख्या हो। केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गर्यो भने महाधिवेशन प्रतिनिधिहरूले हक स्थापित गरेको हो।’ उनले सदस्य हुने संस्थामा निश्चित प्रतिशत सदस्यले चाहेमा विशेष महाधिवेशन व्यवस्था राख्ने गरिएको पनि सम्झाए।
विशेष महाधिवेशन आह्वान फिर्ता नहुने गगन थापाको भनाई ।
1 Min Read


