सन २०२५ मा कति जना नेपाल आए, कति जना नेपालबाट बाहिरीए । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System) शुभारम्भ गर्ने
२०८२ पौष १७, बिहिबार ।
भिसा वर्ष २०२५ (जनवरी १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म) मा १५ लाख २३ हजार नेपाली नागरिकहरु विदेश प्रस्थान गरेका छन् भने जम्मा १३ लाख १३ हजार १ सय ९१ नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल फर्किएका छन्। यसै गरी सोही अवधीमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ। विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन्। नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसा लगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ। कति नेपाली कुन देश प्रस्थान गरे र कुन कुन देशका कति नागरिकले नेपाल भ्रमण गरे भन्ने विषयको विवरण विस्तृत रुपमा पछि प्रकाशन गरिने जानकारी अध्यागमन विभागले जनाएको छ।
साथै आज अध्यागमन विभागले गृहमन्त्री ओमप्रकास अर्यालको आतिथ्यमा नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System) शुभारम्भ गर्ने कार्यक्रम आज बिहान ११ बजे नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा रहेको छ । आज वि.सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा आवद्ध हुनुपर्ने छ ।
यस प्रणालीलाई पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा वि. सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना रहेको छ।
यस सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारीताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ। यो प्रणाली कार्यान्वयनको लागि छोटो अवधी मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको संख्या न्यून रहेको देखिएकोले यथाशीघ्र आबद्धताको लागि अनुरोध गरिएको छ। पहिलो चरणमा उपत्यकाका तारे होटेलहरुमा अनिवार्य लागू गर्ने भए तापनि विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरु अग्रीम रुपमा यस प्रणालीमा आबद्ध हुन सकिनेछ। उक्त प्रणालीमा दर्ता हुने प्रक्रिया र Manual यस विभागको वेभसाईट https://www.immigration.gov.np मा हेर्न सकिनेछ। यस सम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागका कम्प्युटर ईञ्जिनियर श्री सन्तोष कुमार शाह (मोबाईल नं ९७७ ९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिनेछ।
हेर्नुहोस सन २०२५ मा कति जना नेपाल आए, कति जना नेपालबाट बाहिरीए । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) शुभारम्भ गर्ने
2 Mins Read


