संसदीय चुनाव नलड्ने विश्वप्रकाश शर्मा र मेयर छोडेर संसदीय चुनाव लड्ने रेनु दाहाल ।
२०८२ पौष १०, बिहिबार ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् । पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।
तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी संसदीय निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सर्वसम्मत सिफारिस भएकी छन् । पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो । मेयर दाहालका अनुसार आजको बैठकमा आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनको लागि उनको मात्रै एकल नाम सिफारिस भएको हो ।
‘आज ३ नम्बर क्षेत्रको पार्टीको बैठक थियो । मेरो मात्रै नाम प्रत्यक्षतर्फ सिफारिस भयो’, दाहालले भनिन्, ‘साथीहरूको विश्वासलाई स्वीकार गर्छु । महानगर छोडेर निर्वाचनमा अघि बढ्नुपर्छ । चुनौतीका बीच पार्टीको निर्णय स्वीकार गरेको हुँ ।’
संसदीय चुनाव नलड्ने विश्वप्रकाश शर्मा र मेयर छोडेर संसदीय चुनाव लड्ने रेनु दाहाल ।
1 Min Read


