लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन
२०८२ मंसिर १६, मंगलबार ।
सरकारले लुम्बिनी विकास कोषको सदस्य(सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनित गरेको छ। मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिनुभएको छ।
‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला। त्यो (लुम्बिनी) धार्मिक संस्था हो। धर्मको हेक्का राखेर काम गर्नुहोला। तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून्। गौरव गर्न सकून्।’ श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने वचन व्यक्त गर्नुभएको छ। गोरखाको सहिद लखन गाउँपालिका वडा नं ६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगाल्नुभएको छ। मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गर्नुभएको छ।
केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गर्नुभएको थियो। संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिनुभएको थियो। अख्तियारमा उहाँले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गर्नुभयो। उहाँलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए।
इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको उहाँले बताउनुभयो। अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किनुभयो। पछिल्लो समय उहाँले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहनुभएको थियो। उहाँको भनाइ छ, ‘हामी केवल जागिर मात्र खाने होइन। जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ।’
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन
2 Mins Read

