📌 📌२०८२ भाद्र ०३, मंगलबार ।
२०८१ फागुन १३ मा नेपाल बीमा प्राधिकरणका पद तथा गोपनीयताको शपथ लिएका नवनियुक्त अध्यक्ष बर्खास्त भएका छन । नेपाल बीमा प्राधिकरणका निलम्बनमा परेका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो । अनुभवको फर्जी कागजात बुझाएको आरोपमा ओझालाई न्यायिक छानबिन समितिले अयोग्य ठहर गरेपछि मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति बनाएर छानबिन गरेको थियो । समितिमा नेपाल सरकारका पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्वसदस्य कपिलदेव ओली सदस्य थिए । समितिले आइतबार मात्रै प्राधिकरण अध्यक्षका लागि ओझा अयोग्य रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । समितिले ओझाको कार्यक्षमता, पदीय जिम्मेवारी, आचरण र योग्यता अनुभवमा केन्द्रित भएर समितिले ओझामाथि छानबिन गरेको थियो । सो क्रममा अनुभवजस्ता विषयहरूमा कैफियत भेटेको थियो ।
सम्बन्धित क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा रहेर काम गरेको पाँच वर्षको अनुभव हुनुपर्नेमा ओझासँग संवाददाताको रुपमा सञ्चार क्षेत्रमा काम गरेको मात्र अनुभव भएकाले समितिले उनी सो पदमा अयोग्य हुने निष्कर्ष निकालेको थियो । सरकारले प्राधिकरण अध्यक्षबाट निलम्बन गरेपछि ओझा साउन ८ मा त्यसविरुद्ध सर्वोच्च अदालत पनि गएका थिए । तर साउन १९ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिदिएको थियो । गत फागुन १२ मा उनी अध्यक्ष नियुक्त भएका थिए । बीमा ऐनको दफा १२ अनुसार छानबिन समितिको सिफारिसमा सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ । ओझालाई निलम्बन गरेको सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । स्रोत आर्थिक दैनिक


