२६ चैत २०८१, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । उक्त सभाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।
उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट समेत प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ ।
राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । उनका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत मंगलबारको प्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ ।

