२०८१ चैत्र १४ ।
कर्मचारीहरूलाई अहिले पाइरहेको बिदामा दुईवटा शीर्षक थप बिदा सुविधा दिन प्रस्ताव गरिएको छ । संसद्को राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तसम्बन्धमा बनेको विधेयक २०८१ को विषयमा सहमति जुटाउन गठन गरिएको उपसमितिले निजामती कर्मचारीलाई दिने बिदाको विषयमा टुंगो लगाएको उपसमितिका सदस्य बुद्धिमान तामाङले जानकारी गराए । राज्य व्यवस्था समितिले दिलेन्द्र बडुको संयोजकत्वमा उपसमिति गठन गरेको छ । तामाङका अनुसार निजामती कर्मचारीले अहिले पाइरहेको बिदामा थप आन्तरि पर्यटन बिदा र विवाह बिदाको सुविधा पाउने व्यवस्था गरिएको छ ।
आन्तरिक पर्यटन बिदाको अवधि एक हप्ता हुने र विवाह बिदा एकजना कर्मचारीले जीवनमा दुई पटक सुविधा पाउने प्रस्ताव तयार गरिएको उनले बताए । दुईवटा विवाह बिदा सुविधाअन्तर्गत एउटा बिदा आफ्ना लागि, अर्को बिदा छोरा या छोरीका लागि प्रयोग गर्न सक्छन्, अथवा विवाह गरिसकेको कर्मचारीले छोरा र छोरीका लागि दुई पटक विवाह बिदा लिन सक्ने व्यवस्था गरिएको छ,’ उपसमिति सदस्य तामाबले बताए । आन्तरिक पर्यटन बिदाको टुंगो लागे पनि विवाह बिदाको अवधिबारे टुंगो नलागेको अर्का एक सांसदले बताए । आन्तरिक पर्यटन बिदा एक हप्ताको हुनेछ ।

