१४ फागुन, काठमाडौं

फागुन कृष्ण त्रयोदशी तिथिका दिन आज महाशिवरात्रि पर्व पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको छ ।आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ। तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्था गरिएको छ।


