०५ फाल्गुन २०८१ ।
अर्जुनचौपारी गाउँपालिकामा महाशिवरात्रिको अवसर पारेर देशकै पहिलो नवग्रह मन्दिरको विशेष अनुष्ठान सम्पन्न गरिने भएको छ। अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीको संयोजनमा निर्माण सम्पन्न भएको उक्त नवग्रह मन्दिरमा आज फागुन ५ गते प्राणप्रतिष्ठा तथा धार्मिक अनुष्ठान गरिने तय गरिएको छ।
भोली फागुन ६ देखि १४ गतेसम्म हरेक दिन विशेष पूजा आयोजना गरिनेछ। १४४ वर्षपछि परेको महाकुम्भको अत्यन्तै पवित्र समयलाई ध्यानमा राखी मन्दिरको स्थापना गरिएको छ। मुख्यतयाः धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अर्जुनचौपारी गाउँपालिका १ मा मन्दिरको निर्माण गरिएको समेत उनले बताए। यो नेपालमै पहिलो नवग्रह मन्दिर भएकाले यहाँ दर्शन गर्न आउने भक्तजनहरूले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछन्। गण्डकी प्रदेशको केन्द्र पोखराबाट करिब ५२ किमी दूरीमा रहेको यस मन्दिरले पोखरा भ्रमण गर्ने पर्यटकलाई समेत लोभ्याउने अपेक्षा गरिएको छ। साथै, गाउँपालिकालाई धार्मिक पर्यटनको केन्द्र बनाउन यस मन्दिरको निर्माण गरिएको गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले बताए।
हाल नवग्रह (नौ खगोलीय तत्व) को मन्दिर भारतको आसामस्थित चित्रसाल पहाडमा मात्र रहेको पाइन्छ। तर, निर्माणाधीन मन्दिर त्यसभन्दा फरक विशेषतासहित तयार पारिएको छ। मन्दिरको प्रमुख स्तम्भ नवभुज आकारको रहनेछ, जसमा २७ फिट अग्लो ब्रह्माण्डीय प्रतिमा स्थापना गरिनेछ। विशेष गरी, यस मन्दिरको दर्शन भक्तजनहरूले हरेक वर्षको गणेश चतुर्दशीमा मात्र गर्न सक्नेछन्।
नवग्रह मन्दिरको परिकल्पनासँगै षट्कोण संरचनाको बीचमा पशुपतिनाथ मन्दिरको झल्को दिने गरी पञ्चमुखी शिवलिङ्ग स्थापना गरिएको छ। यसका अतिरिक्त, गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीका मूर्तिहरू पनि स्थापना गरिएको छ। मन्दिर परिसरमा एक पटक प्रवेश गरेपछि नवग्रह मन्दिरको नौ चक्र परिक्रमा गरेर पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने संरचना बनाइएको छ। विभिन्न शक्तिपीठहरूमा नवग्रहका मूर्तिहरू छुट्टाछुट्टै स्थापना गरिएका भए पनि सिद्धिप्राप्त योगीहरूको सल्लाह अनुसार नै पूर्णरूपमा समर्पित नवग्रह मन्दिर निर्माण गरिएको तिवारीले जानकारी दिए।
मन्दिरको स्तम्भमा १३ फिट उचाइमा नवग्रहका प्रतीकहरू कुँदिएका छन् भने त्यसको माथि १४ फिट अग्लो नवभुज पिलर राखिएको छ। स्तम्भको उच्च भागमा सूर्यतर्फ फर्किएको सौर्यमण्डलीय प्रतीक (ग्रहको आकृति) स्थापना गरिएको छ। साथै, मन्दिरको नौ चक्रमध्ये एउटा चक्रमा अन्य दिनहरूमा पनि पूजा गर्न सकिने व्यवस्था गरिएको छ। त्यहाँ माथी डाडामा बसेर दरौखोला बगेको, चारै तिर हरियालीले छाएको, सररररर हावा चलिरहने ठाँउ कसलाई मन नपर्ला र एक पटक समय मिलाएर अवश्य जानुहोला ।



