१३ माघ, काठमाडौं ।
जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक करोड रुपैंया धरौटी माग गरेको छ । जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न पनि आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा रोक्का राखी सो को जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू ।’ गोर्खा मिडियाका लेखापालहरू सञ्जय अधिकारी र रजनी श्रेष्ठले कागज गर्दा चेकमा कहिले जीबी राईले अनि उनी नहुँदा रवि लामिछानेले हस्ताक्षर गरेको विषयलाई धरौटी माग्ने आधार बनाएको छ ।
‘प्रबन्धनिर्देशक रवि लामिछानले नै आर्थिक कारोबार गर्ने गरेको पाइएको भन्ने वित्तीय विश्लेषण प्रतिवेदन रहेको‘’ आदेशमा भनिएको छ, ‘उक्त खाताबाट जारी भएका चेकहरूमा मेरो सही रहेको भनी प्रतिवादीले बयान गरेको देखिएको ।’ विभिन्न आधारहरू औंल्याउँदै जिल्ला अदालतले रवि लामिछाने पनि कसूर गरेको देखिएको आधार औंल्याएको हो ।
न्यायाधीश प्रल्हादकुमार योगीले आदेशमा भनेका छन्, ‘‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई रवि लामिछानेलाई एक करोड रुपैयाँ नगद धरौटी, जेथा जमानत वा शर्तरहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू ।’

