०३ माघ २०८१
राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्तालगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन नसकेका, समस्या भएका वा पूरानो भएर नष्ट भएका कागजातहरु समुदायस्तरमै प्राप्त गर्ने वातावरण मिलाउन अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर १४ दिने शिविर सञ्चालन गरी बुधबारबाट सेवा प्रवाह गर्न सुरु गरेको हो । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले समुदायस्तरमा नागरिकता तथा घटनादर्ता लगायतका सरकारी कागजातको समस्या समाधान कार्यक्रम एवं एकीकृत शिविर सञ्चालन गरेको छ ।
पालिकाको वडा नम्बर ३ को वडा कार्यलयबाट सुरु भएको उक्त १४ दिने एकीकृत शिविर मार्फत प्रत्येक वडाका विभिन्न ठाउँ बाट सेवा प्रदान गरिने पालिकाले जनाएको छ । शिविरबाट पञ्जीकरणसम्बन्धी सहजीकरण, आँखा परीक्षण तथा उपचार, माटो, गोबर परीक्षण तथा उपचार, कृषि रोगसम्बन्धी प्रशिक्षण तथा औषधि वितरण, पानी परीक्षण, स्वास्थ्य परीक्षण तथा उपचार, उद्यम विकास सहजीकरण तथा बालश्रम सर्वेक्षण एवं रोजगारी स्थिति सर्वेक्षण, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित कार्ड नवीकरण तथा नयाँ कार्ड वितरण लगायतका अन्य सेवा समेत रहने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।
यस कार्यका लागि गाउँपालिकाले जिल्लामा समेत कर्मचारी खटाई जिल्लास्थित कार्यालयहरुसँग समन्वय गर्ने, सरकारी कागजातहरु प्राप्त गर्नका लागि पालिकाले सदरमुकामसम्म सेवाग्राहीलाई लैजान र ल्याउन निःशुल्क यातायात सेवा उपलव्ध गराउने समेत तयारी गरेको अध्यक्ष तिवारीको भनाइ छ ।



