कात्तिक २१, २०८१
आज छठको दोस्रो दिन ब्रतालुहरु ‘खरना’ विधिको तयारीमा लागेका छन् । छठ पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका ब्रतालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र नदि, कुवा, जलाशयमा स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसी राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधिको समापन गर्नेछन । पर्वको तेस्रो दिन भोलि षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख ब्रतालुले नदि जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् ।


