काठमाडौं कार्तिक १४ बुधबार।
काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै मेयर साहले यस्तो बताउनु भएको हो। मेयर साहले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले विक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताउनुभयो ।
मेयर साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताउनु भयो । उहाँले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताउनुभयो । उहाँले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताउनुभयो । मेयर साहले सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताउनुभयो । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताउनुभयो । उहाँले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताउनुभयो ।


