काठमाडौं कार्तिक १३ मंगलबार।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा समर्थकहरुले बालुवाटारमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु जम्मा भएका थिए । उक्त्त भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी, रास्वपाका ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठ, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल, सवि खड्का लगायतलाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बाँकी नेता–कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटारभन्दा बाहिर पठाइरहेको छ । त्यहीँ उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।
आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको थियो । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो । १२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने भनिएको थियो । तर प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको छ ।


