काठमाडौँ महानगरपालिकामा शिक्षा समितिकी अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सम्पन्न ।
२०८२ चैत्र १०, मंगलबार ।
शिक्षा समितिकी अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज सम्पन्न भयो । उक्त बैठकमा विगतको समीक्षासँगै नौ वटा प्रस्तावमा छलफल भएका थिए । ती प्रस्तावमा छलफल गर्दै अध्यक्ष डङ्गोलले विद्यालयको सामाजिक नक्साङ्कको काम १० दिनभित्र सम्पन्न गर्न विभागलाई निर्देशन दिए । उनले भने, ‘शैक्षिक सत्र सुरु हुनु अघिका सबै तयारी सम्पन्न गर्नुहोला । विद्यालयको बेरुजु घटाउन, शिक्षकलाई प्रविधि र प्राविधिक क्षेत्रमा क्षमता विकास गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुहोला ।’ दर्ता भएर सञ्चालनमा नदेखिएका एक सय सात वटा विद्यालय खारेजीको सार्वजनिक सूचनामा ४२ वटा सम्पर्कमा आएको पनि जनाइएको छ । तीमध्ये सात वटाले सञ्चालन भइरहेको र ३५ वटाले सञ्चालन तयारीमा रहेको जानकारी दिएको विभागले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले मापनयोग्य शैक्षिक नतिजाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न विभागले नवीनतम कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिँदै प्रविधि र प्राविधिक क्षेत्रको शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बेला आएको बताए । स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले विद्यालय छोड्ने समस्याबारे गम्भीर भएर सोच्नुपर्ने धारणा राखे । उनले भने, ‘विद्यार्थी भर्नाको समय आउँदैछ, अभियानका क्रममा विद्यालय छोडेर जाने बालबालिकासँग सम्बन्धित सामाजिक कारण खोज्नुपर्छ, अनि मात्र कार्यक्रम दिगो हुन्छ ।’
बैठकले गरेका मुख्य मुख्य निम्न निर्णयहरु
*बैठकले महानगरलाई साक्षर नगर घोषणा गर्ने,
*तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने,
*सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने,
*कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने,
*विद्यालयको परिचय पाटीमा नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा नाम लेख्न लगाउन शिक्षा विभागलाई निर्देशन दिनेलगायत निर्णय गरेको छ ।
*शिशु स्याहार, मन्टेश्वरी, पूर्वप्राथमिक तहको कक्षा सञ्चालन अनुमति दिने तथा अभिलेखनको जिम्मेवारी शिक्षा विभागलाई दिने निर्णय
*समितिले २०७८ सालमा शुल्क निर्धारण समितिको प्रतिवेदनअनुसार संस्थागत विद्यालयको शुल्क निर्धारण गर्ने निर्णयहरु गरेको छ ।
समितिका सदस्य सचिव एवं शिक्षा अधिकारी नमराज ढकालका अनुसार वैठकले ‘सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि’, ‘संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि’, ‘प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन व्यवस्थापन कार्यविधि’, ‘विषेश शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि’, ‘वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ र ‘शैक्षिक गुठी सञ्चालन व्यवस्थापन कार्यविधि’ तर्जुमा गर्न सैद्धान्तिक सहमतिका लागि कार्यपालिकामा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
यस्तै नाम परिवर्तन गर्न निवेदन दिएका ६ वटा विद्यालय, स्थान परिवर्तनका लागि निवेदन दिएका ४ वटा विद्यालय र स्वामित्व परिवर्तनका लागि निवेदन दिएका ३ वटा विद्यालयहरुका विषयमा हक दावीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको विषयमा छलफल गर्दै ३५ दिनभित्र दावी विरोध वा हक दावी गर्ने उजुरी प्राप्त नभए मागबमोजिम अनुमति दिने निर्णय भएको छ । शिक्षा अधिकारीको अध्यक्षतामा ७ सदस्यीय संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण गर्न ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।
वैठकमा शिक्षक दरवन्दी मिलान र स्थानान्तरण, विषय थप अनुमति, विद्यालयलाई महानगरपालिकाले प्रदान गरेका स्मार्ट वोर्डका प्रयोगकर्ता शिक्षकलाई क्रियटर बनाउने तथा बोर्डको प्रयोग निर्देशिका बनाउने, सामुदायिक विद्यालयको कक्षा १ देखि ५ सम्म अंग्रेजी भाषाको सिकाइ र प्रयोगलाई बढाउने, पुस्तरहित शुक्रबार कार्यक्रमलाई कक्षा १०, ११ र १२ तथा कक्षा १, २ र ३ लाई जोड्ने कार्यक्रम बनाउने विषयमा छलफल भएको थियो ।


