२०८३ कार्तिक ०८, आइतबार ।
बि.सं. २०८१ बाट शुरु भएको नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण भोलि सोमबारदेखि सुरु हुँदैछ । ८ टोली सहभागी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अघिल्ला दुई सिजनमा कम्तीमा ४ टोलीले एक्टिभ टेस्ट नेसन प्लेयर ल्याउन पाउँथे । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अनुमति पाएसँगै विश्वस्तरीय स्टार खेलाडीहरू यसपटक एनपीएलको मैदानमा उत्रिँदैछन् । तेस्रो संस्करणमा आइपुग्दा एनपीएल विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ । तेस्रो सिजनमा आउँदा क्यान डीआरएस प्रविधि भित्र्याउन सक्षम भएको छ । यसले एनपीएलप्रति बढ्दो व्यावसायिक आकर्षण र बजार विस्तारको सम्भावनालाई पनि देखाउँछ । पहिलो सिजनमा भुइँमा बसेर हेरेका दर्शकले दोस्रो सिजनमा प्यारापिटमा बसेर फ्लडलाइटसहित खेलको अवलोकन गरेका थिए । अहिले डीआरएससहित स्टार खेलाडीको खेल हेर्ने अवसर नेपाली समर्थकले पाउने छन् ।
यस पटक पुरस्कार रकम पनि वृद्धि गरिएको छ । यसअघि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पाउँथे तर यस पटक विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पाउने छन् । दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० र चौथो हुनेले ३० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।
एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुँदैछ । जुन नेपाली भूमिमा पहिलो पटक प्रयोग हुन लागेको हो । एलबीडब्ल्युको रिभ्युका लागि फुल थ्रीडी बल ट्र्याकिङको प्रयोग हुनेछ । जसमा रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यु हुनेछ । एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन, हाइटको वाइड, छक्काको लम्बाइ र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि यस पटक एनपीएलमा देख्न पाइने छ ।
यस तेस्रो संस्करणबाट एनपिएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाउनु एनपीएलको अर्को सफलता हो । यो मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास क्यानको छ । टी–२० को मान्यतासँगै खेलाडीले एनपीएलमा बनाएका रेकर्डहरू आधिकारिक रेकर्डका रूपमा समावेश हुने छन् । अर्थात्, एनपीएल अब आधिकारिक रूपमा विश्व क्रिकेटको हिस्सा बनेको छ ।
एनपिएलमा सहभागी हुने ८ टोलीहरु
१. विराटनगर किङ्स
२. चितवन राईनोज
३. जनकपुर बोल्ट्स
४. कणाली याक्स
५. काठमाण्डौ गोर्खाज
६. लुम्बिनी लायन्स
७. पोखरा एभेन्जर्स
८. सुदूरपश्चिम रोयल्स




