काठमाडौँ, ३१ श्रावण – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब भने प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेश आचार्य नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको सिईओ आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आव्हान भएकोमा १८ जनाले आवेदन दिएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २२ गते अन्तिम निर्णयका लागी मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो । धादिङका रमेश आचार्यसहित भक्तपुरका गोपीकृष्ण न्यौपाने र तनहुँका डिल्लीराम लम्सालको नाम अन्तिम निर्णयार्थ क्याबिनेटमा पठाएको थियो ।
नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रूपमा कम्पनी सञ्चालनमा रहेको छ । महाप्रबन्धकको कार्य अवधि ४ वर्षको हुनेछ ।
यसैगरी सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।


