काठमाडौं, २९ फाल्गुन – कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि आवतजावत नै बन्द भएको छ । आगलागीले पुलका लठ्ठामा पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो ।

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए । उनकाअनुसार आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको छ ।
दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले पुलका लठ्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए । त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोस्थित कर्णाली नदीको पुलबाट ‘डाइभर्ट’ गरिएको छ ।
पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलबार घटनास्थल जाँदैछ । लठ्ठा जल्दा पुलको लोड क्षमता घटेको हुन सक्ने भएकाले सवारी आवागमन बन्द गरिएको र विभागको प्राविधिक टोलीले जाँच गरेपछि थप निर्णय लिइने विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । उनकाअनुसार यो पुलको भार लठ्ठाले नै थेग्ने हो ।
२०५१ सालमा जापानको कावासाकी हेवी इन्डस्टिजले निर्माण गरेको चिसापानीस्थित कर्णाली पुल एक खम्बामा अड्याइएको पुल हो । पाँच सय मिटर लम्बाई र १० मिटर चौडाइमा निर्मित यो पुल बने यता मर्मत सम्भार हुन सकेको छैन । सशस्त्र युद्धको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त हुँदा पुलको तार तथा पिल्लरमा गोली लागि क्षति भएको थियो ।


