काठमाडौँ, २२ फागुन -प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् ।उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।
उनीहरूको मन्त्रालय भने तोकिएको छैन । सबै मन्त्रालयको कार्यभार हाललाई प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको छ । गिरी पर्वत र तामाङ नुवाकोट– १ बाट निर्वाचित सांसद हुन् । डिपी समानुपातिक सांसद हुन् । तीनैजना पूर्वमन्त्री हुन् ।
शीतलनिवासमा आयोजित नयाँ मन्त्रीहरूको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सत्तागठबन्धन दलका नेताहरू सहभागी थिए ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल भने सहभागी भएनन् । त्यसैबीच, निवर्तमान मन्त्रीहरूले बिदाइ हुन पनि पाएनन् । गठबन्धन हेरफेरपूर्व प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएनन् । बिदासमेत हुन नपाई मन्त्री सिंहदरबारबाट बाहिरिए । उनीहरूले प्रधानमन्त्रीसँग बिदाइ भेटसमेत गर्न पाएनन् ।


