काठमाडौँ, २६ पुष – बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिमबाट अलग भएका छन् । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा हिजो ८ वर्ष कैद सजायको अन्तिम फैसला गरेसँगै उनले हिजो नै क्यानलाई एक पत्र लेखेर राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएको बताइएको छ ।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेर यसबारे जानकारी दिएको भनिए पनि यसबारे क्यानले हालसम्म औपचारिक जानकारी दिएको छैन । क्यानका अध्यक्ष चन्दले यो विषयमा आजै प्रेस रिलिजमार्फत जानकारी दिने बताए । क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेका छन् ।
अदालतबाट दोषी ठहर भएपछि बागमती क्रिकेट संघले सन्दीप लामिछानेलाई यसअघि नै बाहिर राखेर टिमको घोषणा गरेको थियो । बागमतीले हिजो रित गौतमको कप्तानीमा घोषणा गरेको १४ सदस्यीय क्रिकेट टिममा सन्दीपलाई समावेश गरिएको छैन ।
नेपाल क्रिकेट संघले सन्दीपलाई राष्ट्रिय क्रिकेटमा समावेश गर्ने/नगर्ने कुरा अदालतको अन्तिम फैसलापछि निर्णय गरिने बताउँदै आएको थियो । जिल्ला अदालत काठमाडौँले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । तर, हिजो भने उनलाई ८ वर्ष कैद सजाय र ३ लाख जरिवाना तथा २ लाख क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

