२०८२ जेठ २०, काठमाडौं ।
स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । करण केसीले ४१ बलमा अविजित ६५ रन बनाए । उनी म्यान अफ द म्याच पनि घोषित भए ।
नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक थियो र ३ विकेट मात्र बाँकी थियो । गुल्शन झाले ४५औं ओभरमा २ छक्का प्रहार गरे भने ४६औं ओभरमा उनी आउट भएपछि नेपाललाई ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो । त्यसपछिको ओभरमा सफिया सरिफले जम्मा ५ रन मात्र दिएपछि अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल १५९.८ को अवस्थामा थियो । करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो ।
४९औं ओभरमा सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियो ।
अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिन ढकालले एक बल वाइड र एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए । करणले त्यसपछिको २ बलमा २(२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो । उक्त बल डाउन द लेग वाइड भएपछि बाइको रन लिन पनि भागेका रिजन रनआउट भए तर अम्पायरले वाइडको इशारा गरेपछि नेपालको १ विकेटको जित ठहर भएको हो । यस जितपछि नेपालको लिग २ मा १३ खेलमा ८ अंक भएको छ र अंकतालिकामा आठौंबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ : करण के.सी.को ब्याटिङमा नेपालको कीर्तिमानी जित ।
2 Mins Read


