११ फागुन, काठमाडौं।
काठमाडौंमा चलिरहेको चार (किर्गिस्तान, लेबनान, नेपाल र म्यानमार) राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनले डिबक्स बाहिर प्राप्त फ्रिकिकमा हानेको प्रहारलाई गा
गोलमा परिणत गरिन। त्यसको पाँच मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। नेपालका लागि सविता रानामगरले गोल गर्न सफल भइन्। सावित्रा भण्डारीले उत्कृष्ट ड्रिबलिङ गर्दै सिक्सयार्ड नजिकबाट सवितालाई पास उपलब्ध गराएकी थिइन्। जसमा सविताले उत्कृष्ट फिनिसिङ गरिन्।
१६ मिनेटमा म्यानमारले फेरी दोस्रो पटक खेलमा अग्रता लियो, मे लुले खेलको डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिइन्। ४१ मिनेटमा नेपालले दोस्रो पटक बराबरी गोल गर्न सफल भयो। सरु लिम्बूले डिबक्स नजिक दिएको पासलाई प्रिति राईले साम्बालाई उपलब्ध गराइन्। उत्कृष्ट रनिङ गर्दै बल अघि बढाएकी साम्बाले उतिकै उत्कृष्ट फिनिसिङ गर्दा नेपालले खेललाई २-२ को बराबरीमा ल्याउन सफल भयो।
दशरथ रंगशालामा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो ।सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुई पटकपछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।अब उपाधिकका लागि पनि यिनै टोलीबीच बुधबार फाइनल हुनेछ।
दोस्रो हाफको इन्जुरी समयमा नेपाल फिनिसिङमा चुकेको थियो। नेपालले डिबक्समा बल पुर्याए पनि अन्तिम पास दिन भने चुकेको थियो। दुवै टोली लिग चरणमा किर्गिस्तान र लेबनानलाई पराजित गर्दै फाइनल पुगिसकेका छन्। अब आगामी बुधबार साँझ छ बजे नेपाल र म्यानमार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


