२०८२ भदौ ०१, आइतबार ।
कुवेतमा विषादीयुक्त (मिथेनोल मिश्रित) मादक पदार्थ सेवनका कारण अप्रवासी—विशेष गरेर दक्षिण एशियाली—कर्मचारीहरू अस्पताल भर्ना भएका र केहीको मृत्यु भएको दुखद समाचार छ। मिथेनोल विषाक्तताको शिकार भएका करीब ६३ जनालाई अस्पतालमा उपचार गरिएको छ। धेरैमा क्रृत्रिम श्वासप्रश्वास र आपतकालीन अक्सिजन सहित उपचार गरिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार कुल प्रभावित संख्या १६० जना पुगेको छ, जसमा धेरैजसो दक्षिण एशियाली श्रमिक रहेको जनाएको छ ।
कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकामध्ये केहीको मृत्यु भएको र केही बिरामीको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । त्यहाँस्थित नेपाली दूतावासले शक्रबार विज्ञप्ति जारी गरी बिरामी भएको जानकारी हुनासाथ अस्पताल पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको र उचित उपचारका लागि समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ तर मृतक सङ्ख्या तथा कुनै विवरण खुलाएको छैन । स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेयपदार्थ सेवनबाट टाढा रहनसमेत दूतावासले अनुरोध गरेको छ । यसैबिच नेपाली बिबिसी सेवाका अनुसार गैरकानुनी रूपमा बिक्री हुने विषादीयुक्त मदिरा सेवन गरेको भनिएका थप ३५ जनाभन्दा धेरै नेपाली कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन् । बिबिसीले कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएको जनाएको छ ।


